चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि दिउँसो ४ बजेर ४५* मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।
चिनियाँ राष्ट्रपति सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भ
ण्डारीले विमानस्थलमै स्वागत गरेकी छन् ।
राष्ट्रपति सी को स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखहरुसमेत विमानस्थल पुगेका छन् ।
स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको टोली उपस्थित भएको हो ।
चीनका तर्फबाट यो २३ वर्षपछि भएको शीर्ष नेतृत्वको भ्रमण हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।
शुक्रबार राष्ट्रपति सी, विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितका ९० सदस्यीय टोली भारत भ्रमणमा गएको थियो । शनिबार दिउँसो २ बजे उक्त टोली भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेको थियो ।
नेपाल आउनुअघि राष्ट्रपति सीले भारतको तमिल नाडुस्थित मामल्लपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब ४० मिनेट छलफल गरेका थिए ।
आजै राष्ट्रपति भण्डारी र सीबीच साढे ६ बजे शितल निवासमा भेटवार्ता हुनेछ ।
आज साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि सी होटल सोल्टीमै राष्ट्रपति भण्डारी आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।
भोलि बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सी नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीको वार्ता हुनेछ ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमै नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षरसमेत हुनेछ ।
राष्ट्रपति सी भोलि दिउँसो १२ः३० बजे चीन फर्कनेछन् ।