सो वडामा समाजवादी पार्टीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेण्ट गाडेर भोजभतेरको आयोजना गर्न लागेको समयमा रोकिएको जानकारी दिँदै सशस्त्र प्रहरी निरीक्षक महतले भने, ‘आचारसंहिताविपरीत गर्न लागिएको सो भोजभतेर रोकिएको हो ।’
उम्मेदवार तथा दलहरुलाई आचारसंहिताको पूर्णपालना गर्न आफैँ टोलीसँग अनुगमन गर्ने गरेको अनुगमनकर्ता तथा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले बताइन् ।
निर्वाचन कार्यालयले यसअघि आचारसंहिताविपरीत सो वडामा लगाइएको झण्डा तथा तुलहरु हटाइएको छ ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडाध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात सखुवाप्रसौनी गाउँपालिका–५ मा वडाअध्यक्षको उपनिर्वाचन हुन लागेको छ ।
महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँ सखुवाप्रसौनी वडा नं ५ मा पर्ने र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् ।
महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्सिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनको लागि मतदान केन्द्र एक र मतदानस्थल तीन रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदाताले वडामा सडक सञ्जालको विस्तारलाई प्रमुख समस्याको रुपमा लिएका छन् भने उम्मेदवारहरुले भने आफूले जितेमा वडाको मुहार फेर्ने सपना बाँड्दै मत मागिरहेका छन ।
मतदाता भन्छन्, ‘वडाको विकास गर्ने, बाटोघाटो, स्वास्थ्य सेवा र गरीबी प्रमुख समस्या रहेकाले उक्त समस्या समाधान गर्ने उम्मेदवार नै हाम्रो प्राथमिकतामा रहनेछन् । सबै उम्मेदवारले आफू जित्ने दाबी गरिरहे पनि नतिजा थाहा पाउन मङ्सिर १४ गतेको उपनिर्वाचनलाई कुरिरहेका छन् ।’