काठमाडौँ, २१ मङ्सिर । ‘नेपाल टप मिडिया प्रालि’ ले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा आजदेखि अनलाइन टेलिभिजन र अनलाइन रेडियो शुभारम्भ गरेको छ ।
प्रालिले आज आयोजना गरेको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् इन्दु शर्माले अनलाइन टेलिभिजन र अनलाइन रेडियो शुभारम्भ गर्दै सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो प्रालिलाई लोभलाग्दो र विश्वसनीय सञ्चार गृहका रुपमा विकसित हुन सकोस् भनी शुभकामना दिनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले अनलाइन पत्रकारितामा विकृति समेत भित्रिएको स्थितिमा ‘दनेपालटपडटकम’ ले पृथक पहिचान स्थापित गर्न सक्ने अपेक्षा व्यक्त गर्नुभयो ।
सो सञ्चार गृहका नवनियुक्त प्रधानसम्पादक राजेन्द्र अर्यालले मिडियाप्रति जनताको सही दृष्टिकोण कायम राख्नका लागि आफूहरुले नयाँ प्रविधिलाई आत्मसात् गरेर पत्रकारिता गर्न थालेको बताउनुभयो । प्रालिका अध्यक्ष अमरेशकान्त झाले सम्पादन समूहमा नयाँ नेतृत्वसहित सुधार ल्याउन लागिएको जनाउनुभयो ।