मनाङ, २९ मङ्सिर । विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको ताल ‘तिलोचो’ भनेर हामीले चिन्दै आएका छौं । तर त्यो भन्दा पनि अग्लो स्थानमा रहेको अग्लो नयाँ ताल भेटिएको छ । यसको नाम केजिन सारा लेक दिइएको छ । मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिकामा पर्ने यस ताल गुगलमा समेत राखिएको छ ।
लमजुङ हिमालको बेसक्याममा अवस्थित यस ताल समुन्द्री सतहबाट ५ हजार २ मिटर उचाइमा रहेको छ । यस तालले १ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको देखिन्छ । आन्तरिक भ्रमण वर्ष २०२० लाई चामे गाउँपालिकाले पर्यटकीय प्रकृतिक संरक्षण अभियन लिएर प्राकृतिक स्रोतहरूको खोज अनुसन्धन गर्दै गर्दा यो ताल भेटिएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार पहिले नै यो ताल भेटिए पनि कति उचाइमा रहेको छ र कति क्षेत्रफल ओगटेको छ भन्ने थाहा थिएन। साउन ५ गते गाउँपालिका, जिल्ला प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको सहयोगमा मापन गरिएपछि यसले आधिकारिक्ता पाएको अध्यक्ष घलेले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र र गाउँपालिकाको संयुक्त टोली यस ठाउँमा पुगी अनुसन्धन गरेको सशस्त्र प्रहरी बलका डिएसपी निलकमल आचार्यले बताए । उनका अनुसार यस ठाउँमा जानका लागि करिब दुई दिन लाग्ने छ । भर्खर मात्र यो ताल भेटिएकाले बस्ने खानेको व्यवस्थापनमा कठिनाइ रहेको उनले बताए ।