युएस-नेपाल न्युज, काठ्माण्डौ । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ। पत्नी गीताको हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालाको मुद्दामा सर्वोच्च अदालतले असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुनामा बसे पुग्ने भन्दै फैसला गरेको थियो। त्यही फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा रिट दायर गर्ने भएको हो । बिहीबार अन्तर पार्टी महिला सञ्जालका टोलीसँगको भेटका क्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्चको फैसलाविरुद्ध अदालतमा पुनरावलोकनका लागि जाने बताएको सञ्जालका अध्यक्ष सावित्रा भुषालले जानकारी दिइन्। सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जान पाउने व्यवस्थाअनुसार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन का लागि सर्वोच्चमा रिट दायर गर्न लागेको हो।
पूर्व डिआइजी कोइरालाले २०६८ पुष २७ गते पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएका थिए। २०६८ माघ ८ गते पक्राउ परेका उनलाई २०७१ वैशाख ७ गते जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
कोइरालाले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। उच्च अदालतले पनि २०७२ मंसिर २३ गते जिल्लाकै फैसलालाई सदर गरेको थियो। तर तल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय नजरअन्दाज गर्दै सर्वोच्चले कोइरालाको ११ वर्ष सजाय घटाइदिएको थियो।