युएस नेपाल न्युज, चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको मुग्लिङ प्रहरीले जनाएको छ ।
हिजोदेखि नै खुल्ने र बन्द हुने क्रम चलिरहेकोमा आज बिहान ४ बजेतिर चारकिलोमा पहिरो गएपछि फेरि अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड सञ्चालनमा आउन आज दिनभर नै लाग्ने भएको छ । तर लगातार पानी परेको र अरु साना पहिरो खस्ने, रुख ढल्ने भएकाले थप समस्या भएको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
आज लगातार काम गर्न सकिए बेलुकासम्म एकतर्फी नै भए पनि बाटो खुलाउन सकिने उहाँको भनाइ छ । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड अवरुद्ध भएको हो ।