पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडकलगायत जताततै मान्छेको भीड पनि त्यत्तिकै बढेको देखिन्छ ।
शुरुका दिनहरु जस्तो सावधानी कोही कसैले अपनाएको देखिदैन । आजको दिनमा मात्रै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भएको परीक्षणमा नौ गरी ८६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । “बिहीबार पनि कर्णालीमा १०५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो,” उहाँले भन्नुभयो, “आज ८६ जना थपिएसँगै सङ्क्रमित हुनेको सङख्या तीन हजार ७२९ पुगेको छ ।” सङक्रमितमा सुर्खेतका ५३, जुम्लाका सात, दैलेखका छ, कालीकोटका चार, जाजरकोटका दुई र प्रदेशबाहिर १४ जना रहेको उनले बताए ।
अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङक्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी आठ, क्वारेन्टाइनमा रहेका छ, सशस्त्र प्रहरी पाँच, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, बिरामी र शिक्षक दुई÷दुई जना रहेका छन् । त्यस्तै, इन्जिनियर, थुनुवा, अटोचालक, कृषकहरु पनि सङ्क्रमण देखिएको छ । हाल यहाँ सक्रिय कोरोना सङ्क्रमितको सङख्या ४९२ रहेको जनाउँदै उहाँले आज तीन जना घर फर्किएका छन् । कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ४५ पुगेको छ ।
कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँ सङ्क्रमणले सबै क्षेत्रमा जोखिम बढाएको छ ।