काठमाडौँ, १३ पुस । संविधानसभाको आजको बैठकमा सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन,२०७१ माथिको छलफलमा भाग लिँदै विभिन्न दलका सभासद्ले मिश्रित विचार व्यक्त गर्नुभयो ।
सत्तापक्षका सभासद्ले प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयोभने प्रतिपक्षी दलका सभासद्ले सर्वस्वीकार्य सहमतिको संविधान बनाउनुको विकल्प नभएको दलीय अडान दोहो¥याउनुभयो ।नेपाली काँग्रसका सरस्वती बजिमयले उक्त प्रतिवदेन अब समितिमा पठाउन नहुनेमा जोड दिँदै त्यसको छिनोफानो संविधानसभाको पूर्ण बैठकबाटै हुनुपर्ने माग गर्नुभयो ।
काँग्रेसकै चन्द्रबहादुर कुँवरले देशलाई विदेशीको खेलौना बनाउनबाट जोगाउन पनि संविधानसभाबाटै माघ ८ गते संविधान जारी गर्नैपर्ने धारणा राख्नु भयो । नेकपा (एमाले) का विकास लम्सालले सम्वाद समितिले विवादित विषयमा सहमति जुटाउन नसकेकाले पुनः सोही समितिमा प्रतिवेदन पठाउन नहुने, सहमतिको नाममा मुलुकलाई बन्धक बनाउन नहुने र तत्काल प्रक्रियामा जानुपर्ने धारणा राख्नुभयो ।
एमालेकै सभासद्द्वय विश्रामप्रसाद चौधरी र जुनेद अन्सारीले माघ ८ गते संविधान जारी नभए जनताले माफ नदिने भएकाले सबै दललाई संविधान जारी गर्ने वातावरण बनाउन आग्रह गर्दै सम्वाद समितिमा प्रतिवेदन फर्काउन नहुने धारणा राख्नुभयो ।
नेपाली काँग्रेसका सभासद् अब्दुल हमिद सिद्धिकीले संविधानको विवादित विषयमा सहमति नभएकाले प्रक्रियामा जानु पर्नेमा जोड दिनुभयो ।तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् रमणि रामले सहमतिको आधारमा नै संविधान जारी हुनुपर्नेमा जोड दिँदै पुनः सहमतिका लागि सम्वाद समितिमा प्रतिवेदन पठाउनुपर्ने धारणा राख्नुभयो ।
काँग्रेसका दिलमान पाख्रिनले मुलुकको सापेक्षतामा सबैले अपनत्व गर्ने संविधान जारी गर्नुपर्नेमा जोड दिँदै सहमति नभएका कारण प्रक्रियामा जान शीर्ष नेतालाई सुझाव दिनुभयो ।एमालेका मिरा पोखरेल धुजुले सहमतिको नाममा विगत आठ वर्षदेखि मुलुक बन्धक बनेको धारणा राख्दै संविधानसभाबाटै विशेष व्यवस्था गरेर प्रक्रियामा गएर मुलुकको मूल कानुन लेखिनुपर्ने धारणा राख्नुभयो ।
एकीकृत नेकपा(माओवादी)का जुठबहादुर टुहुरे खड्गीले विगतका आन्दोलन र क्रान्तिलाई संस्थागत गर्नका लागि पनि सहमतिको आधारमा नै संविधान जारी हुनुपर्ने र प्रक्रियाको आधारमा अल्पमत र बहुमतको खेल नखेल्न आग्रह गर्नुभयो ।एमाओवादीकै प्रकाशवाला राई र मानबहादुर थारुले प्रक्रियाको नाममा मुलुकलाई द्वन्द्वको भूमरीमा फसाउने चालबाजीलाई सफल हुन नदिने धारणा राख्नुभयो ।
एमालेका कृपाराम रानाले सहमतिकै आधारमा नै संविधान जारी हुनुपर्ने, प्रक्रियामा जान नहुने भन्दै आफ्नो दलको भन्दा फरक धारणा राख्नुभयो ।एमालेका दामोदर भण्डारी, काँग्रेसका डा गणेशकुमार मण्डलले तत्काल प्रक्रियामा गएर संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभाको अर्को बैठक पुस १४ गते सोमबार दिउँसो १३ बजे बस्नेछ । रासस