एमाओवादी बैठक नेतृत्व हस्तान्तरणमा केन्द्रित

सोमबार , साउन ३०, २०७९
राजनीति

काठमाडौँ, १३ पुस । एकीकृत नेकपा (माओवादी)को आज बसेको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि आफ्नो विचार राख्नुभयो ।

वरिष्ठ नेता डा भट्टराईले आफूले कहिल्यै पार्टीको कार्यकारी पद नमागेको उल्लेख गर्दै अध्यक्षको प्रस्तावअनुसार नै आफूले एकपटक पार्टीको अध्यक्ष हुने इच्छा राखेको बताउनुभएको थियो ।पार्टीलाई समयानुकूल अगाडि बढाउन र सबै पक्षको भावनालाई आत्मसात गर्ने गरी क्रमशः नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने आफ्नो विगतदेखिकै माग रहेको तर्क गर्दै उहाँले आगामी वर्ष आयोजना गरिने विशेष महाधिवेशनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु हुने उल्लेख गर्नु भयो ।

अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा २०७२ माघमा विशेष महाधिवेशनको आयोजना गर्ने, पार्टीभित्र देखिएको साङ्गठनिक र राजनीतिक विषयमा प्रस्ट पार्ने तथा नेतृत्व हस्तान्तरण गर्ने विषय समावेश गर्नुभएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालको प्रतिवेदनमा आफू मूल नेतृत्वबाट अलग रहने र अध्यक्षमा वरिष्ठ नेता डा भट्टराईलाई निर्वाचित गर्ने प्रस्ताव गर्नुभएको छ । अध्यक्ष दाहालको सो प्रस्तावपछि माओवादीभित्र मिश्रित खालको प्रतिक्रियासमेत प्राप्त भएको छ ।अध्यक्ष दाहालको सो प्रस्तावप्रति स्थायी समिति सदस्य जनार्दन शर्माले आजै केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराउनुभयो । नेतृत्व हस्तान्तरण प्रक्रिया विचारसँग जोडिएको भन्दै उहाँले दर्ता गराउनुभएको प्रस्तावमा व्यापक छलफल जरुरी रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले नेतृत्व हस्तान्तरणको विषयलाई वैचारिक विषयसँग नै बढ्ता जोडेर अगाडि बढाउनुपर्ने तथा सामान्य लेनदेनको विषय बनाउन नहुने भन्दै समग्र विषयमा नै छलफल केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो । रासस

Post Comment