उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले अब देश र जनताको समग्र विकास एवं उत्थानका लागि ठोस नीति र योजना बनाउन जरुरी रहेको बताउनुभएको छ ।
उहाँले राजनीतिक स्वार्थ त्यागेर राष्ट्र निर्माणमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।
सरकारले विराटनगरलाई अस्थायी राजधानी तोक्ने कार्य आफूलाई चित्त नबुझेको स्पष्ट पार्दै उपप्रधानमन्त्री गच्छदारले इटहरी पूर्वकै विकसित, व्यवस्थित र सुन्दर शहर बनेकातर्फ कसैको दुई मत नभएको र प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी इटहरीलाई बनाउन कसैले नरोक्ने दाबी गर्नुभयो ।
इटहरीलाई प्रदेशको राजधानी बनाउन सबैले एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि आफूले के कस्तो भूमिका खेल्नुपर्छ त्यसका लागि तयार रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।