नेपालीको दोश्रो ठूलो चाड तिहार अगावै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ ।
परिस्थितमा केही ठूलै फेरबदल नआए वर्तमान सरकारका धेरैजसो मन्त्री तिहारअघि नै सरकारबाट बाहिरिने करिब निश्चितजस्तै छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठनबारे सहमति भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली नयाँ मन्त्रिपरिषदका सदस्यहरुको सपथ गराएर मात्र आगामी कात्तिक पहिलो साता हुने असंलग्न राष्ट्रहरुको बैठकमा सहभागी हुन अजरबैजान जाने मनस्थितिमा छन् ।
यसअघि पनि पटकपटक मन्त्रिपरिषद पुनर्गठनको हल्ला चल्दै आएको थियो । तर, नेकपाभित्रको आन्तरिक समीकरणका कारण प्रधानमन्त्री ओलीले निर्णय लिन सकेका थिएनन् । यसपटक भने मन्त्रिपरिषदको पुनर्गठन हुने निश्चित रहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।
सबैलाई राजीनामा गराउने वा केहीलाई हटाउने ?
स्रोतका अनुसार मन्त्रिपरिषद विस्तार कसरी गर्ने भन्नेमा शीर्ष नेतृत्व तहमा छलफल भइरहेको छ । एउटा कोणबाट सबैलाई राजीनामा गर्न लगाएर नयाँ ल्याउने र अर्को कोणबाट कार्यक्षमता कमजोर भएका र सुशासनका मामिलामा कमजोर केहीलाई मात्र हटाउनुपर्ने भन्ने विचार आइरहेको नेकपाका एक सचिवालय सदस्यले काठमाण्डुटुडेलाई जानकारी दिए ।
केहीलाई मात्र हटाउँदा उनीहरुमाथि ‘कारबाही’ गरिएको सन्देश जाने र राजनीतिक ‘करियर’ बिग्रिन सक्ने भएकाले सबैलाई राजीनामा गराउने र पूरानामध्येबाट केहीलाई पुनः मन्त्री बनाउने विकल्प प्रधानमन्त्री ओलीले अघि सारेका छन् । प्रधानमन्त्री ओली अहिलेका सबै मन्त्री बिदा गर्ने सोचमा छन् । सरकारबाहिर रहेका नेकपाका कतिपय नेता पनि सबैलाई बिदा गर्नुपर्नेमा एकमत छन् ।
स्रोतका अनुसार प्रचण्डले भने आधा कार्यकालपछि सरकारको नेतृत्व परिवर्तन गर्ने दुई पार्टी एकताका बेलाको सहमतिअनुरुप वर्तमान प्रधानमन्त्री र मन्त्रीहरु एकैपटक बिदा हुँदा राम्रो हुने सोचमा छन् । त्यसैले उनले सबैलाई राजीनामा गराएर नयाँलाई ल्याउने विकल्पमा सहमति जनाएका छैनन् ।
प्रधानमन्त्रीले काम गर्न सहहज ठानेका र जनताबाट आलोचित केहीलाई हटाउनुपर्ने प्रस्ताव उनको छ । ‘सबैलाई हटाउने होइन, प्रधानमन्त्रीसँग ‘स्प्रिट’ नमिल्ने र जनस्तरबाटै आलोचित भएकाहरुलाई हटाएर बाँकी सबै आधा कार्यकालमा एकैपटक बिदा हुँदा राम्रो हुन्छ भन्ने उहाँको भनाइ छ’, प्रचण्डका एक निकट सहयोगीले काठमाण्डुटुडेसँग भने ।
यद्यपि जसरी भए पनि मन्त्रिपरिषद पुनर्गठन गर्ने भन्नेमा चाहिं दुवै नेता सहमत भएका छन् । पार्टी सचिवालय बैठक डाकेर केही दिनमै त्यसबारे निर्णयमा पुग्ने तयारी छ ।