चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र कुनै समस्या नरहेको बताएका छन् ।
नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमीन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उपसभापति निधिले हरेक निर्णयहरु सहमतिका साथ भएको बताउँदै यस एकताले निर्वाचनमा मात्रै नभएर समग्र पार्टीलाई नै बलियो बनाउने विश्वास व्यक्त गरे ।
नेपालमा भएको हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै उनले परिवर्तन संस्थागत गर्नका लागि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने बताए ।
उपसभापति निधिले गएको निर्वाचनमा काँग्रेसको हारका कारण खोज्नुभन्दा अहिले एक भएर लाग्नु आवश्यक रहेको बताउँदै अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए। उनले अब जनताको पक्षमा काम गर्ने जिम्मेवारी काँग्रेसको रहेको बताए ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृतराज हमाल, स्थानीय कपिल आले, सुदन पौडेल लगायतले बोलेका थिए ।
नेपाली काँग्रेसका वडा सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टी परित्याग गरी विभिन्न व्यक्तिले पार्टी प्रवेश गरेका थिए ।