उपनिर्वाचनमार्फत सरकारलाई सच्याउनुपर्छ : सभापति देउवा

उपनिर्वाचनमार्फत सरकारलाई सच्याउनुपर्छ : सभापति देउवा
राजनीति समाचार

“जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउनका लागि यस निर्वाचनमा काँग्रेसले जित्नुको विकल्प छैन”, सभापति देउवाले भने ।

सभापति देउवाले त्यागी र सादगी नेता खेमराज पौडेललाई कास्की क्षेत्र नं २ मा उम्मेदवारका रुपमा अघि सारेर पार्टीले उनीप्रति न्याय गरेको बताए ।

“पौडेललाई न्याय दिने जिम्मेवारी कास्कीका जनताको काँधमा आएको छ”, उनले भने । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने आरोप लगाए ।

“अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन्”, उनले भने।

काँग्रेस उम्मेदवार पौडेललाई अत्यधिक मत दिएर जिताउन उनले आग्रह गरे । काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट सरकार मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागि परेको आरोप लगाए ।

सरकार मुलुक र जनताको हितका साथै लोकतन्त्र, संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता कुनैको हितमा नरहेको उल्लेख गर्दै उनले यसलाई सच्याउनका लागि पनि यो चुनाव काँग्रेसले जित्नुपर्ने बताए ।

केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा वर्तमान सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाए ।

युवा नेता गगनकुमार थापाले स्व रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि नेकपालाई भोट दिने हो भने त्यो उहाँ प्रतिको अपमान हुने बताए । नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा पौडेललाई जिताएर त्यसको सन्देश देशभरी दिनुपर्ने नेता थापाले उल्लेख गरे ।

उम्मेदवार पौडेलले आफू सधैँ कस्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गर्नुभयो । जितेर गएपछि पनि सधैँ जनताकै साथमा हातेमालो गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेशसभा सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्का, कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले सरकारलाई सही बाटोमा हिँडाउनु काँग्रेसको दायित्व भएको बताए ।

सो अवसरमा विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय वामपन्थी नेता माधवप्रसाद पराजुली, ईन्द्रमान सिलवाल, सरु थापा, निर्मला थापालगायत काँग्रेसमा प्रवेश गरेका थिए ।

Post Comment