निर्वाचन आयुक्त दाहालले मतदान केन्द्रको अनुगमन

निर्वाचन आयुक्त दाहालले मतदान केन्द्रको अनुगमन
राजनीति समाचार

मङ्सिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गर्नुभएको हो । उहाँले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।

त्यसैगरी उहाँले मतगणनास्थल विद्युत् प्राधिकरण तालीम केन्द्र खरीपाटीको समेत अनुगमन गर्नुभएको थियो । सो अवसरमा आयुक्त दाहालले स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान केन्द्रमा खटिएका सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।

मतगणनास्थलमा पनि सबैको नियमानुसार सहज प्रवेश तथा सूचना सम्प्रेषणको लागि सञ्चारमाध्यमलाई विशेष स्थान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधान र जिल्ला निर्वाचन अधिकारी घमचन्द्र तिम्सिनाले सुरक्षा व्यवस्था मजबुत भएको जानकारी गराउनुभएको थियो ।

सबै मतदान केन्द्रमा मतदान अधिकृत आआफ्नो मतदान केन्द्रमा पुगिसकेको र सर्वदलीय बैठक राखी मतदाता परिचयपत्रसमेत वितरण गरिएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बझ्ने कार्यक्रम छ ।

Post Comment