काठमाडौँ, २१ मङ्सिर । डिसेम्बर ७ अर्थात् अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षाबारे गोष्ठी, प्रभातफेरी, झण्डोत्तोलनलगायत कार्यक्रम आयोजना ग¥यो । यसै अवसरमा बिहान सिनमामङ्गलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्म प्रभातफेरि गरियो । प्रभातफेरिमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका उच्च अधिकारी, क्यानका महानिर्देशक राजन पोखरेललगायत मन्त्रालय, क्यान, विमानस्थल र नेपाल वायु सेवा निगमका कर्मचारी एवं पर्यटन व्यवसायीको सहभागिता थियो ।
अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल परिसरमा पर्यटनमन्त्री भट्टराईले नेपालको राष्ट्रिय झण्डा र आइकाओको झण्डोत्तोलन गर्दै नेपालको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले हवाई क्षेत्रमा देखापरेको विश्वव्यापी आयाम र नेपालको बदलिँदो परिस्थितिअनुरुप मन्त्रालयले नीगिगत तथा संरचनागत सुधारका काम अघि बढाएको उल्लेख गर्नुभयो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको मापदण्डानुरुप उड्डयनको सुरक्षा, सेवा गुणस्तर अभिवृद्धिमा संस्था लागिपरेको बताउनुभयो ।
सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकाका राइट ब्रदर्सले पहिलो पटक हवाइजहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन शुरु गरिएको हो । पछि संयुक्त राष्ट्र सङ्घ महासभाले पनि डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो ।