मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकारले निर्माण गरेका नीतिनियम तथा कानून प्रभावकारी ढङ्गले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले नेपाली राजनीतिमा सदाचार प्रवद्र्धनका लागि हरेक पार्टीले ध्यान दिनुपर्नेमा जोड दिँदै जनताको सेवा गर्छु भन्ने भावनाको जागृत हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले देशबाट भ्रष्टाचारलाई उन्मूलन गर्न आयोगले पाँचवर्षे रणनीति सार्वजनिक गरेको जानकारी दिँदै आयोगसँग रहेको अहिलेको कार्य क्षेत्रलाई फराकिलो पार्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारमा बस्नेहरुले विधिको अधिनमा रहेर पारदर्शी रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै गत वर्ष आयोगले ३५१ मुद्दा अदालतमा दायर भएको र यो वर्षको साउन १ गतेदेखि हालसम्म १७० मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
राजनीतिक विश्लेषक प्रा कृष्ण खनालले नीति र निष्ठाअनुरुप काम गर्ने पद्धतिलाई नै सदाचार हो भन्नुभयो । वरिष्ठ कलाकार हरिवंश आचार्य र ट्रान्सपरेन्सी इन्टरनेशनलका महासचिव मुकुन्दबहादुर प्रधानले भ्रष्टाचार नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा मह जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको राष्ट्रिय सदाचार सम्मान २०७६ प्रदान गरियो ।