काठमाडौं, २९ मङ्सिर । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्ने सत्तारूढ नेकपा स्थायी समिति बैठक आज बस्दैछ । आज एक वर्षपछि स्थायी कमिटी बैठक बस्न लागेको हो ।
आजको बैठकबाट एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउने छ । त्यसैगरी आजकै बैठकले वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउने छ ।
स्थायी समिति बैठकमा सचिवालय विस्तारले पनि प्रवेश पाउने देखिएको छ । वरिष्ठ नेता माधव नेपालले यसअघि नै सचिवालयमा तत्कालीन एमालेतर्फका तीन नेतालाई थप गर्न प्रस्ताव गरेका थिए । तत्कालीन एमालेमा उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा लैजान नेताहरूले कुरा उठाउने तयारी गरेको नेकपा स्रोतले जनाएको छ ।