काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो मानसिकता बोकेका कर्मचारीका कारण देशले कोल्टे फेर्न नसकेको बताएका छन् ।
सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलनमा बोल्दै उनले पुरानो मानसिकता बोकेका कर्मचारीलाई ससम्मान बिदा नदिएसम्म देशको कोल्टे फेर्न नसक्ने र जनताले परिवर्तनको महसुस गर्न नपाउने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘राणा शासन ढलेर पञ्चायत आयो, नेता फेरिए कर्मचारी फेरिएनन् । पञ्चायत ढल्यो बहुदल आयो, नेता फेरिए कर्मचारी फेरिएनन्, बहुदल पनि गयो गणतन्त्र नेपाल आयो, हामी नेता फेरियौ तर कर्मचारी फेरिएन’, उनले भने, ‘पुरानै मानसिकता बोकेका कर्मचारीका कारण जति राजनीतिक परिवर्तन भए पनि देश सफल हुन सकेन ।’
एउटा सामान्य कामका लागि पनि स्थायी सरकार मानिने कर्मचारीले तनाव दिने गरेको उनले बताए । ‘जब नेता कर्मचारीसँग जान्छ, कर्मचारी यो नियम, त्यो विधि भन्दै नेताहरुको दिमाग खराव बनाउँछ’, उनले भने, ‘यसरी विकास र समृद्धि हुँदैन । पुराना कर्मचारीलाई ससम्मान बिदा नै दिनुपर्दछ ।’
उनले ठुला–ठुला राजनीतिक परिवर्तन ठुलो तपस्या र बलिदानीबाट आउने तर कार्यान्वयन गर्ने कर्मचारीको मानसिकता पुरानै हुँदा सवै राज्यब्यवस्था असफल भएको बताए । ‘सानो मेहेनतबाट जनताको संविधान बनाएका होइनौ तर कर्मचारीको पुरानो मानसिकताले संविधान कार्यान्वयन हुन सकेन’ प्रचण्डले भने ।
कर्मचारीकै कारण संघियता असफलतातिर गएको टिप्पनी पनि उनले गरे ।