काठमाडौँ, ३ पुस । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा तत्काल नियमावली बनाएर पूर्णकालीन पार्टी नेता–कार्यकर्ताको भरणपोषणको व्यवस्था गर्न माग उठेको छ ।
आइतबारदेखि जारी स्थायी समिति बैठकमा आफ्ना धारणा राख्ने क्रममा सचिवालय सदस्यदेखि स्थायी समिति सदस्यसम्मका नेताले भरणपोषणको माग गरेका हुन् । यसो गर्दा नेता–कार्यकर्ताको जीवन पारदर्शी हुने र आर्थिक आर्जनका लागि ‘राजनीतिक ठेक्कापट्टा’ को काम गर्न नपर्ने ती नेताहरुको भनाइ छ ।
तत्कालीन एमाले र माओवादीले एकतापूर्व पूर्णकालीन नेता–कार्यकर्ताका लागि ‘उचित’ रकम दिने गरे पनि नेकपाले यस विषयमा अहिलेसम्म नियमावली बनाएको छैन ।
स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीका पूर्णकालीन कार्यकर्तालाई पकेट खर्च नदिएर मगन्ते बनाउन खोजेको भनेर नेतृत्वलाई आरोप लगाए ।
बैठकमा ज्ञवालीले भने, ‘पूर्णकालीन कार्यकर्तालाई विगतमा पकेट खर्च भनेर दिइन्थ्यो । अहिले दिँदैन । के हामीलाई मगन्ते बनाउन खोजेको? हामीलाई चाहियो हजुर भनेर ज्यू हजुर भनेर माग्ने बनाउन खोजेको?’
अर्का सदस्य अष्टलक्ष्मी शाक्यले पनि पूर्णकालीन कार्यकर्ताको रक्षाका लागि उनीहरुलाई भरणपाषणको खर्च दिन माग गरिन् ।
यस बिषयमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसअघि आफूले तीन पटकसम्म सचिवालयमा पूर्णकालीन नेता कार्यकर्तालाई नियमावली बनाएर भरणपोषण खर्च दिन माग गरेको बताए ।