काठमाडाैँ, २४ पुष । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
उमेद्वारी फिर्ता गर्न चाहानेहरुले सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता गर्न सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभाका १८ सदस्यका लागि मुलुकका सात प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएका छन् । उनीहरूको नामावली आयोगले बुधबार प्रकाशन गरेको हो ।
नेकपा, कांग्रेस, राजपा, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगका अनुसार प्रदेश- १ मा ९, प्रदेश- २ मा ८, प्रदेश- ३ मा ६, गण्डकी प्रदेशमा ५, प्रदेश-५ मा ६, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको उम्मेदवारी दर्ता भएकाे छ । राष्ट्रिय सभाका एकतिहाइ अर्थात् १९ सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।
त्यस रिक्त स्थानकाे पूर्तिका लागि १८ जना निर्वाचनबाट आउनेछन् भने एक जना राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।