संविधान संशोधनका लागि दुई लाइन संघर्ष गरिने छ : अध्यक्ष यादव

संविधान संशोधनका लागि दुई लाइन संघर्ष गरिने छ : अध्यक्ष यादव
राजनीति समाचार

उदयपुर । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने कुरा बताएका छन् ।

आज उदयपुरको सदरमुकाम गाईघाटस्थित सिटीहलमा सञ्चालन भएको प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरु गर्ने बताए ।

विगतमा हाल सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म सो कुरा पूरा हुन नसकेको कारण आफ्नो पार्टी शान्तिपूर्ण सङ्घर्षमा जानु परेको स्पष्ट गरे ।

आइतबार शुरु भएको प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अर्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणाली ठीक नभएको कारण देशमा व्यापक भ्रष्टाचार बढेको धारणा राखेका थिए ।

उनले अबको दुई वर्षभित्र समाजवादी पार्टीलाई देशको ठूला राजनीतिक दलको क्षमता र सङ्ख्याको हैसियतमा पु-याउने प्रतिबद्धताका साथ अहिले पार्टी प्रशिक्षण तथा विस्तार अभियान शुरु गरिएको बताए ।

प्रशिक्षण कार्यक्रममा अर्का वरिष्ठ नेता अशोक राईले देशमा भ्रष्टाचार व्यापक बढ्दै गएको कारण यसको सुधार गर्नको लागि अब निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र खर्चिलो प्रत्यक्ष निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा राखे ।

दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को १४ जिल्लाको झण्डै २५० कार्यकर्ताको सहभागिता रहेको सो पार्टीले जनाएको छ ।

प्रशिक्षणमा सहभागीलाई अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रकम चेमजोङ, हेमराज राईले प्रशिक्षण दिएका थिए भने कार्यक्रम समापनको प्रशिक्षण अर्का अध्यक्ष उपेन्द्र यादवले दिए ।

Post Comment