महामारीको जोखिमको चुनौती उत्तिकै रहेकोले लकडाउन खोल्नेदेखि अन्य धेरै पक्षमा हतार नगर्न प्रधानमन्त्रीको आग्रह

महामारीको जोखिमको चुनौती उत्तिकै रहेकोले लकडाउन खोल्नेदेखि अन्य धेरै पक्षमा हतार नगर्न प्रधानमन्त्रीको आग्रह
राजनीति समाचार स्वास्थ्य

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको चुनौती उत्तिकै रहेकोले अहिले नै लकडाउन खुलाउनेदेखि अन्य धेरै पक्षमा हतार नहुने प्रष्ट पार्नु भएको छ ।

उहाँले जोखिम न्यूनीकरणका लागि अपनाइएका उपायहरु पक्कै कठोर हुनसक्छन् तर रोग भित्रिन नदिनका लागि सबैले कठोर परीक्षा पास गर्न बाँकी नै रहेको बताउनु भएको हो ।

उहाँले तत्काल छिमेकी मुलुक भारतमा अलपत्र परेका नेपालीहरुलाई ल्याउन स्वास्थ्यको हिसाबले जोखिमपूर्ण भएको पनि प्रष्ट पार्नुभयो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने ? भन्ने प्रश्न उठाएसँगै प्रधानमन्त्री ओलीले १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने बताउनुहुँदै भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने प्रष्ट पार्नुभयो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले सीमा नाकामा रहेका नेपालीलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले तत्कालै भारतमा रहेका नेपालीहरुको उद्दार सम्वभ नभएको बताउनुभयो ।

यसैबीच उहाँले भारतबाट कोरोना भित्रिन नदिन सीमानाकामा अझै कडाइ गर्न निर्देशन दिनुभएको छ । भारतमा समस्यामा परेका नेपालीहरुलाई भारतस्थित नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने मन्त्रिपरिषदको निश्कर्ष रहेको जानकारी गराइएको छ ।

Post Comment