संस्कृतका विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा टिक्छन् : नेता पौडेल

संस्कृतका विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा टिक्छन् : नेता पौडेल
राजनीति समाचार

पूर्वसभामुख एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्कृतका विद्यार्थीमा भित्रैबाट आध्यात्मिक चेतको मनोबल हुने भएकाले शान्तिपूर्ण आन्दोलनमा टिक्ने गरेको बताएका छन् । संस्कृत छात्र सङ्घले नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा आज जुम प्रविधिबाट आयोजना गरेको ‘नेपालमा लोकतन्त्रको जागरण र स्थापनामा जयतु संस्कृतम् आन्दोलनको भूमिका’ विषयक अन्तक्र्रियामा उनले यही प्रेरणाले लोकतन्त्रका लागि गरिएको अधिकांश आन्दोलन अहिंसात्मक भएको बताए ।

नेता पौडेलले भने, “निरङ्कुश राज्यशक्तिले पनि दबाउन नसक्ने चेत संस्कृतका विद्यार्थीमा हुने भएकाले जहानियाँ राणा शासनका बेलामा पहिलो विद्यार्थी आन्दोलन हुन सकेको हो, जयतु संस्कृतम् आन्दोलनका योद्धाले सामाजिक सुधारका लागि ब्राह्मणले हलो जोत्ने, छुवाछूतको अन्त्यलगायत परिवर्तनका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ ।”

संस्कृतले राष्ट्रवादको भावनालाई समेत जगाउने उहाँको भनाइ थियो । नेपाली काँग्रेस संसदीय दलका सचेतक एवं जयतु संस्कृतम्का योद्धा काशीनाथ गौतमकी सुपुत्री पुष्पा भुसाल गौतमले अहिलेको शासन व्यवस्था पनि विसं २००४ को भन्दा फरक नदेखिएकाले लोकतान्त्रिक मूल्य मान्यता संरक्षणका लागि संस्कृतका विद्यार्थीले फेरि योगदान दिनुपर्ने समय आएको बताइन्

संविधानसभा सदस्य रामचन्द्र पोखरेलले सत्याग्रहीका रुपमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले राखेको मागलाई दबाउन खोज्दा देशव्यापीरुपमा राणा शासनका विरुद्ध चेतना जागृत हुने अवसर मिलेको स्मरण गराए ।

संयुक्त राष्ट्रसङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले कालापानी, लिपुलेक, लिम्पियाधुराका बारेमा सुगौली सन्धिभन्दा अघिको जस्तो लडाईं गर्ने वातावरण नभएकाले कूटनीतिक वार्ताकै माध्यमबाट समस्या समाधान गरिनुपर्ने बताए ।

कार्यक्रममा जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले मानिस शास्त्रीय निर्देशानुसार आचारमा बस्न छोडेपछि घरघरमा झगडाको आगो सल्कन थालेकाले संस्कारमा सुधार हुनुपर्नेमा जोड दिए ।

जयतु संस्कृतम् संस्थाका महासचिव प्रा डा नवराज कट्टेल, प्रा डा देवमणि भट्टराई, शान्तिकृष्ण अधिकारी, धनेश्वर नेपाल, छात्र सङ्घका सुशान्त आचार्य लगायतले संस्कृत शिक्षाको आवश्यकता बढ्दै गएकाले अनिवार्य गर्ने गरी अभियान चलाउन लागिएको बताए।

दिवसकै अवसरमा आज बिहान जयतु संस्कृतम् संस्थाले दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयत् संस्कृतम् स्तम्भमा माल्यार्पण गर्नुका साथै विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिएको थियो ।

Post Comment