पार्टी एकताबद्ध छ, कोही भ्रममा नपर्नुस्ः अध्यक्ष दाहाल

पार्टी एकताबद्ध छ, कोही भ्रममा नपर्नुस्ः अध्यक्ष दाहाल
राजनीति समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई कुनै तात्विक असर नपर्ने स्पष्ट गर्नुभएको छ ।

अध्यक्ष दाहालले सोमबार विज्ञप्ति प्रकाशन गरी नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण सङ्घर्षको परिणामस्वरुप प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको बताउँदै एकाधको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र एकतालाई भत्काउन नसक्ने ठोकुवा गर्नुभएको छ ।

उहाँले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आमजन समुदायलाई आग्रह गर्दै भन्नुभएको छ, “ राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु ।”

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको सिफारिशको पार्टी स्थायी कमिटीको बैठकले विरोध गरिसकेको समेत उल्लेख गर्नुभएको छ । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको समेत अध्यक्ष दाहालले स्मरण गराउनुभएको छ ।

Post Comment