प्रहरीले नै निर्मला पन्तका हत्यारा भगायो :परराष्ट्रमन्त्री ज्ञवाली

प्रहरीले नै निर्मला पन्तका हत्यारा भगायो :परराष्ट्रमन्त्री ज्ञवाली
समाज

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको गम्भीर त्रुटि भएको बताएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रहरीले नै अपराधी उम्काएको बताएका हुन् ।

‘निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भएको देखिएको छ’, उनले भने, ‘घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही तरिकाले अनुसन्धान गरेर अपराधीलाई उम्काएको देखियो ।’

अझै पनि सरकार नडग्मगाएर अनुसन्धान गरिरहेको उनले दाबी गरेका छन् । सरकारले ढिलो चाँडो जसरी भएपनि अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने मन्त्री ज्ञवालीको तर्क थियो ।

‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘ढिलो चाँडो अपराधी पत्ता लगाएर कारवाहीको दायरामा ल्याएर छोड्छौँ ।’

मन्त्री ज्ञवालीले वास्तविक दोषी जहाँ गएपनि सुख नपाउने भन्दै सरकारले कानुनी कटघरामा उभाएरै छोड्ने दाबी गरे ।

निर्मला हत्या प्रकरणमा भिआईपीको कनेक्सनबारे पुष्टि नभएको दाबी गर्दै उनले भ्रमित नपार्न आग्रहसमेत गरे । यदि घटनामा भिआईपीकै कनेक्सन भए कारवाहीको भागेदार हुनुपर्ने उनको भनाई थियो ।

Post Comment