‘साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू’

‘साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू’
समाचार समाज

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले क्षेत्रीयस्तरको खेलकूद प्रतियोगिता तथा उपनिर्वाचन हुन गइरहेको विशेष अवस्थामा शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपालमा यही मङ्सिर १५ देखि २४ सम्म हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकूद (साग) तथा मङ्सिर १४ गते केही स्थानमा हुन गइरहेको उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा आज महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै उहाँले विगतका अनुभव र अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशील भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

नेपालमा आयोजना हुन लागेको सागको सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरको रूपमा लिई जिम्मेवारी वहन गर्न आग्रह गर्दै उहाँले समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

खेलकूद प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले त्रुटिरहित तरिकाले खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेल मैदानका साथै ट्राफिक व्यवस्थापनमा समेत उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिए ।

उनले सम्भावित घटना तथा अवाञ्छित गतिविधिहरुको पहिचान गरी सूचना सङ्कलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउनुपर्नेमा जोड दिए ।

Post Comment