एजेन्सी, ३ फागुन । आज एक विशाल क्षुद्रग्रह(एस्टेरोइट) पृथ्वीको नजिकबाट जाँदैछ । नेपाली समय अनुसार आज अपरान्ह ४ः५० बजे १४४३ फिटदेखि ३२४८ फिटबीचको आकारको उक्त ग्रह पृथ्वीको नजिक हुँदै जाने भएको हो । यद्यपी उक्त ग्रहले पृथ्वीलाई कुनै हानी भने पु-याउने छैन ।
आकारको तुलना गर्दा यो कुनै विशाल गगनचुम्मी भवन आकारको रहेको नासाका विज्ञले बताएका छन् । नासाको ‘सेन्टर फर निअर अर्थ अब्जेक्ट स्टडिज’का अनुसार क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा पुग्ने छैन ।
क्षुद्रग्रह पृथ्वीबाट झण्डै ५७ लाख ७७ किमी टाढा हुदैं जानेछ । नासाका अनुसार यो दुरी पृथ्वी र चन्द्रमाबीचको दुरीभन्दा १५ गुणा बढी हो ।
२००२पीजेड३९ नाम दिइएको उक्त क्षुद्रग्रह अगस्ट २००२ मा पत्ता लागेदेखि वैज्ञानिकहरुको निगरानीमा रहेको छ । माइनर प्लानेट सेन्टरले २००२पीजेड३९ लाई पृथ्वीका लागि ‘सम्भावित खतरानाक क्षुद्रग्रह’को सुचिमा राखेको छ ।
पृथ्वीबाट ७४ लाख किमीको दुरीमा पर्ने ४९२ फिटभन्दा ठूला आकारलाई सम्पूर्ण आकासीय पिण्डलाई ‘सम्भावित खतरा’को सुचिमा राख्ने प्रचलन छ ।
आइतबार र सोमबार केही थप क्षुद्रग्रहहरु पृथ्वीको नजिकबाट जाँदैछन् । घरदेखि देखिने हवाईजहाज आकारका ती आकाशीय पिण्डमध्ये सबैभन्दा नजिक भएर जाने क्षुद्रग्रह सोमबार पृथ्वीभन्दा २२ लाख ४२ हजार किमीको दूरीबाट जानेछन् ।