१८५ जना नेपालीलाई लिन वुहान उड्यो वाइडबडी जहाज, आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

१८५ जना नेपालीलाई लिन वुहान उड्यो वाइडबडी जहाज, आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने
समाचार समाज स्वास्थ्य

काठमाडौं, ३ फागुन । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ । शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो । कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकरएक जना इन्जिनियर र लोडमास्टर छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने विमान राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने छ । आइतबार बिहान सवा २ बजेतिर २७७ सिटे यो जहाज नेपाली लिएर काठमाडैं आइपुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

नेपाल आउन अहिले चीनका चार–पाँच शहरका नेपाली वुहानमा जम्मा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् । नेपाल आउन १८० नेपालीले चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । ‘उनीहरूका बच्चाबच्ची समेत गरेर १८५ जना हुनेछन्, तिनलाई यहाँ ल्याएर क्वोरन्टाइनस्थल भक्तपुरका नगरकोट र खरीपाटीमा राखिने छ’, श्रेष्ठले भने । काठमाडौं आइसकेपछि चीनबाट फर्किएका ती नेपालीलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।

Post Comment