काठमाडौं, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ । मिर्गौला प्रत्यारोपणको १० औं दिन उनलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो ।
प्रधानमन्त्री ओली पूर्णरूपमा स्वस्थ रहेका पत्रकार सम्मेलनमार्फत् चिकित्सकले बताएका छन् । यद्यपी डिस्चार्ज हुँदा प्रधनमन्त्री ओलीले भने कुनै प्रतिक्रिया भने दिएनन् । केवल हात हल्लाएर अभिवादन मात्र स्वीकार गरेका थिए ।
ओली यही फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।