काठमाडौं, १२ चैत । कोरोना संक्रमित भएको पुष्टि भएकी नेपाली युवतीसँगै विमानमा आएका १२५ जना अन्य यात्रुको ठेगना पत्ता लागेको नेपाल प्रहरीले जनाएको छ ।
संक्रमित पुष्टि भएकी ती नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेसँगै प्रहरीले उनीहरुलाई क्वारेन्टाइनमा बस्न र स्वास्थ्य परीक्षण गराउन भनिसकेको जनाइएको छ ।
प्रहरीले ती १२५ जना नेपालको विभिन्न भागमा रहेको भन्दै आफू मातहतका प्रहरीका ईकाईमाफर्त पत्राचार गरिएको जनाएको छ । यद्यपी प्रहरीले १२५ जना यात्रुको नाम भने खुलाएको छैन ।
चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन् । त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए ।
फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएकी थिइन् । युवती कोरोना संक्रमित भएको पुष्टि भएसँगै अन्य यात्रुबारे खोजी शुरु भएको थियो ।