निगमको वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री ल्याइँदै

निगमको वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री ल्याइँदै
समाचार समाज स्वास्थ्य

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ ।

औषधोपचारजन्य सामग्री लिन निगमको वाइड बडी जहाज शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइड बडी जहाज शनिबार चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुङ्गिनसकेको राससलाई जानकारी दिनुभयो ।

“हाम्रा (निगमको) वाइड बडी जहाज शनिबार चीन पठाउने तयारी गरिएको हो तर यो प्रक्रियामै छ, ‘ओभर फ्लाइङ पर्मिशन’का लागि सम्बन्धित मुलुकसँग पहलकदमी भइरहेको छ । उडान अनुमति पाउनासाथ जहाज पठाइनेछ”, उहाँले भन्नुभयो ।

वाइड बडी जहाजले कोभिड– १९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । यो चार्टर्ड उडानका लागि सम्बन्धित मुलुकसँग उडान अनुमतिका लागि कूटनीतिक तवरबाट पहल भइरहेको जनाइएको छ ।

यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले निगमको वाइड बडी जहाज चीन जाने तयारी भइरहेको तर उडान तालिका भने यकिन भइनसकेको जानकारी दिनुभयो । आज साँझसम्म उडान तालिका बन्ने उहाँले उल्लेख गर्नुभयो । सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।

Post Comment