कास्की । कोभिड–१९ रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटक एवम् पर्यटनसँग आबद्ध मजदूरलाई आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौँ लैजाने व्यवस्था गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज श्री एयरलाइन्स र पर्यटकबसबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइएको जानकारी दिए । उनले शुक्रबार ५८ जना विदेशी पर्यटक चार्टर जहाजबाट काठमाडौँ गएको र त्यसअघि फ्रान्सेली दूतावासले ५९ जना आफ्ना नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडौं लगेको बताए । आज श्री एयरलाइन्सले करीब एक सय ५० जना जतिलाई काठमाडौँ लाने व्यवस्था भएको उनले जानकारी दिए ।
उनले भने, ‘श्रीका दुईवटा जहाजमा आज पर्यटकलाई काठमाडौँ लगिँदैछ, त्यसैगरी जहाजमा व्यवस्थापन हुन नसकेका, विभिन्न स्थानमा पदयात्रामा रहेर समयमै सम्पर्कमा आउन नसकेका र अन्य पर्यटकहरुलाई पर्यटक बसबाट लैजाने व्यवस्था गरिएको छ ।’ कार्कीले पोखरामा करीब दुई सय जति पर्यटक भएको बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन पश्चिमाञ्चलका (टान) अध्यक्ष हरि भुजेलले पर्यटक र पर्यटन सम्बद्ध मजदूरलाई लेक साइडको बाराहीचोकमा बिहान ११ बजे जम्मा हुन विभिन्न सामाजिक सञ्जाल र सम्बन्धित क्षेत्रबाट आह्वान गरिएको बताए । भुजेलले भने,‘अहिले १०/१५ जना सम्पर्कमा आउनुभएको छ । हामीलाई प्राप्त जानकारीअनुसार आज बसबाट काठमाडौँ जाने करीब ६०/७० जना पर्यटक गाइड र पोर्टर हुनुहुन्छ ।’