कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० जना भारतबाट फर्केका व्यक्तिको र्यापिड टेस्ट गरिएको हो ।
क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै पाँच स्वास्थ्यकर्मी र होम क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पनि र्यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको सुपरभाइजर जोशीले बताए । यस्तै बेलडाँडी गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड टेष्ट गरिएको छ । र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बताए । वेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेका क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको समेत र्यापिड टेष्ट गरिएको छ । कञ्चनपुरमा भारतबाट फर्केका २३२ जना क्वारेन्टाइनमा छन् ।
सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँँच गर्ने निर्णय गरेको थियो । तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेष्ट विधिबाट परीक्षण गर्न शुरु गरेको हो ।
नेपालमा देखिएका नौ जना कोरोना सङ्क्रमितमध्ये कैलालीमा तीन, कञ्चनपुरमा एक र बाग्लुङमा दुई जना रहेका छन । कैलालीका तीन र कञ्चनपुरका एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।