भेरी अस्पतालमा शुक्रबारदेखि पिसिआरको परीक्षण शुरु हुने

भेरी अस्पतालमा शुक्रबारदेखि पिसिआरको परीक्षण शुरु हुने
समाचार समाज स्वास्थ्य

बाँके । भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौँबाट विज्ञसहितको टोली आज यहाँ आउने भएको छ । विज्ञको टोलीले पिसिआर( पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु हुने अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाका अनुसार कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालनविज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण शुरु हुन सकेको थिएन । नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा.थापाले बताए ।

प्रदेश नं ५ सरकारले भेरी अस्पतालबाट कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने निर्णय गर्नासाथ यसको तयारी शुरु गरिएको थियो । त्यसका लागि अस्पतालले एक माइक्रोबायोलोजिष्ट र अन्य ल्याब टेक्निशियनलाई तयारी अवस्थामा समेत राखिसकेको छ ।

डा थापाका अनुसार अस्पतालमा रु २५ लाख मूल्यको पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएका छन् । आवश्यक जनशक्ति र पर्याप्त किट्स भएमा दिनमा १०० भन्दा बढी नमूना जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

घर घरमा सामाजिक सुरक्षा भत्ता

चन्द्रौटा – कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं। ८ का ७५ वर्षीय मतिउल्ला मुसलमानलाई नगरपालिकाका प्रतिनिधिले घरमै आएर वृद्धाभत्ता दिएपछि खुशी छन् । सधैँ वृद्धा भत्ता लिन अर्को टोलमा जानुपर्ने भए पनि यस पटक आफ्नै घरमा आएर रकम दिएको उनले बताए ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घर घर पुगेर वितरण गरेका छन् । बैंकिङ प्रणाली लागू नगरेका स्थानीय तहले अहिले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । कपिलवस्तुको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर वितरण गरिसकेका छन् ।

कृष्णनगर नगरपालिकाले चार हजार ८९० जनालाई भत्ता वितरण गरेको छ । नगरमा रहेका १२ वडामध्ये एउटा वडा मात्र बाँकी रहेकाले बिहीबारसम्म सबैलाई वितरण गरिने नगरपालिकाका सूचना अधिकारी साकिर अहमद साहले जानकारी दिए । दोस्रो चौमासिकअन्तर्गत घर घरमा पुगेर रु चार करोड २३ लाख ९१ हजार ७०० वितरण भएको उनले बताए ।

सङ्कटको बेलामा सरकारले प्रदान गर्ने भत्ता वितरण गरेपछि नागरिकको जीविकोपार्जनमा केही सहजता भएको नगप्रमुख रजतप्रताप साहले बताए । उनले वडाध्यक्ष र वडा सचिवलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा दिएको बताए ।

त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै विपन्न परिवारलाई प्राथमिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । गाउँपालिकामा रहेका सात वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई रु दुई करोड ५६ लाख वितरण गरिएको उनले बताए ।

शिवराज नगरपालिकाले पनि बैंकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । वडा सदस्यबाट विपन्न परिवारको नामावली लिएर उनीहरुलाई दैनिक २५ जनाभन्दा कमलाई बैंकमा उपस्थित गराई वितरण गर्ने योजना बनाएको छ । विपन्न नागरिकलाई शुरुमा प्रदान गरिने शिवराज नगरपालिका–३ का अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए ।

बाढीले लघुविद्युत् भत्काएपछि अन्धकार

प्यूठान – प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा विद्युत्विहीन बनेका छन् । स्थानीय नदीबाट लघुविद्युत् उत्पादन गर्दै आएका दुई गाउँका पाँच वटा लघुविद्युत् तथा पेल्टिसेटहरुको बाढीले कुलो पुर्ने तथा भत्काइएपछि एक हजार ४०० घरधुरी अन्धकारमा परेका हुन् ।

गौमुखी गाउँपालिका–३ वटा वडाका तीन लघु जलविद्युत् र दुई पेल्टी सेट गरी पाँच आयोजनाका कुलो भत्किएपछि एक हजार ३४२ घरधुरी विद्युत्विहीन बनेको स्थानीयवासीले बताएका छन् । गतवर्षको पहिरोका कारण क्षति भएको विद्युत् संरचनाको मङ्गलबार मात्र स्थानीयवासीले मर्मत गरेर विद्युत् सञ्चालनमा ल्याएका थिए । मर्मत गरेको दुई दिन नबित्दै पुनः बाढीले कुलो बगाउनाका साथै पहिरोले ठाउँ ठाउँमा पुरिएको छ ।

गौमुखी गाउँपालिका–१ मा रहेको घटेखोला (दोस्रो) लघु जलविद्युत् १० किलोवाट, गौमुखी गाउँपालिका–२ मा रहेका एक किलोवाटको खोला खर्क पेल्टी सेट, ५०० वाटको ढुङ्ढुङखोला पेल्टीसेट र गौमुखी गाउँपालिका–३ रजवाराका ४० किलोवाट क्षमताको खराखोला र १७ किलोवाटकोे तिखाचुलीखोला लघु जलविद्युत् आयोजनाका कुलोहरु बाढीले भत्काइदिएको स्थानीयवासी जोगिन्द्र मल्लले जानकारी दिए ।

गाउँमा खाद्यान्न पिसानी मिल, कम्युटर, टिभी, कुखुरापालन, खाना पकाउनसमेत प्रयोग गर्दै आएको विद्युत् आपूर्ति ठप्प भएपछि रजवाराको जनजीवनसमेत प्रभावित भएको उनले जानकारी दिए ।

बाढीबाट भएको क्षति अहिले यकिन भएको छैन । धेरै वर्षदेखि वर्षाको समयमा विद्युत् संरचना बाढी र पहिरोले क्षति पुु¥याउने गर्नाले गौमुखी गाउँपालिकाका अर्खा र रजवाराका गाउँलेले विद्युत् आपूर्ति बन्द हुने समस्या भोग्दै आएका छन् । धेरै वर्षदेखि पहिरो झरिरहेका कारण दिगो रुपमा पुनःनिर्माण हुन नसेकेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।

त्यसैगरी गौमुखी गाउँपालिका–२ अर्खामा ५४ घरधुरीले प्रयोग गर्दै आएको खानोपानी आयोजना बन्द भएका छन् । तीस घरधुरी उपभोक्ता रहेको तेलाखोला खानेपानी आयोजना र २४ घरधुरीले प्रयोग गर्दै आएको जेता खोला खानेपानी आयोजनाको मुहान बाढीले पुरिदिँदा खानेपानीसमेत प्रभावित बनेको स्थानीयवासीको भनाइ छ ।

Post Comment