आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरी जवान पक्राउ

आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरी जवान पक्राउ
समाचार समाज

बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए ।

मृतक किसानले लेखेको सुसाइटनोट र परिवारले दिएको जाहेरीका आधारमा दवाडीलाई हिरासतमा लिइ अनुसन्धान शुरु गरिएको हो ।

जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खड्कबहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका थिए ।

सार्कीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि दवाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्र्तगत मुद्दा दायर गर्ने तयारी भएको प्रनि केसीले बताए ।

गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुस्साहन मुद्दामा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

सम्झना मङ्गलबार बिहान आफू बस्दै आएको कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सम्झनाले जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरी लेखेको सुसाइटनोटमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ । आत्महत्या गर्नुपूर्व सम्झनाले प्रहरी प्रमुखलाई सम्बोधन गरी लेखेको नोटमा दोषीमाथि आवश्यक छानबिन गरी कारवाही गर्न अनुरोध गरिएको छ । विसं २०७५ भदौ ५ गतेदेखि प्रहरी जवान दवाडीसँग चिनजान भई मायामा फस्दा बिचल्ली भई आत्महत्याको बाटो रोज्नुपरेको सुसाइटनोटमा उल्लेख छ ।

दवाडीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भएपछि परिवारले मृतक सम्झनाको शवलाई शुक्रबार दाहसंस्कार गरेका छन् । प्रहरीले उनीहरुको सम्बन्ध, मोबाइलमा भएका पछिल्ला संवादलगायत विषयमा अनुसन्धान थालेको छ । कानूनअनुसार, दोषी ठहर हुने अवस्था आए अदालतले उनलाई कारवाही तोक्ने र सोहीअनुसार हुने केसीले बताए ।

Post Comment