स्मार्ट सिस्टम प्रयोग गरेर मिटर रिडिङ

स्मार्ट सिस्टम प्रयोग गरेर मिटर रिडिङ
समाचार समाज

हेटौंडा । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले आफ्नो सेवा जारी राखेको छ । केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले विद्युत् प्रवाह अवरुद्ध भएको अवस्थामा तत्काल मर्मत गरी सेवालाई निरन्तर भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक दूरी कायम गरी बिहान ६ बजेदेखि १० बजेसम्म महसुल काउन्टर खुला गर्न दिएको निर्देशनअनुसार काउन्टर सञ्चालन गरी महसुल बुझ्ने काम भइहेको जनाइएको छ ।

केन्द्रीय निर्देशनअनुसार सिङ्गल फेजका ग्राहकलाई फागुन महिनामा उठेको शुल्कलाई आधार मानेर चैत र वैशाख महिनाको महसुल निर्धारण गरिएको र ठूला ग्राहकहरुको हकमा भने मिटर जाँचका लागि प्राधिकरणबाट कर्मचारी पठाइने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । साथै रिमोर्टबाट स्मार्ट सिस्टमको प्रयोग गरेर पनि मिटर रिडिङको काम भइरहेको उनले बताए ।

आगामी जेठ १ गतेबाट भने ग्राहकको घरमै मिटर रिडिङका लागि प्राधिकरणबाट कर्मचारी खटाइने बताइएको छ । ग्राहकले विद्युत् महसुल आगामी जेठ ५ गतेसम्म बुझाउँदा विशेष छुट पाउने र जरिवाना नलाग्ने प्राधिकरणले जनाएको छ ।

Post Comment