यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ ।
नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ ।
नवरात्रिको पहिलो दिन ब्रह्मायणीस्थित खोलामा स्थान गरी ब्रह्मायणीको दर्शन गरिन्छ । यस्तै दोस्रो दिन हनुमानघाटस्थित महेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ । तेस्रो दिनमा देउला टोलको बीचमा रहेको कुमारी मन्दिर मेला लाग्ने गर्छ भने चौथो दिनमा चुपिङघाटस्थित भद्रकाली मन्दिरमा मेला लाग्ने गर्दछ ।
त्यसैगरी दशैँको पाँचौँ दिनमा बाराही मन्दिरमा मेला लाग्छ । दशैँको नौरथामा विभिन्न नौ देवीहरुको दर्शन गर्ने प्रचलनअनुसार छैटौँ दिनमा बिहानै सिद्धपोखरीमा स्नान गरी खौमास्थित इन्द्रायणी देवीको दर्शन गरिन्छ । सातौँ दिनमा कालीघाट खोलामा स्नान गरी व्यासीस्थित महाकाली मन्दिरको दर्शन गरिन्छ ।