जाजरकोट । भेरी नगरपालिका—४ का मोहनजङ्ग खत्री उच्त रक्तचाप (ब्लड प्रेसर)को औषधि लिन सदरमुकामस्थित एक औषधि पसलमा गए । त्यहाँ औषधि नपाएपछि आधा दर्जन औषधि पसल चाहारे तर कुनैमा पनि औषधि पाएनन् । साता दिनदेखि औषधि खान नपाएको उनको गुनासो छ ।
त्यस्तै मधुमेह (सुगर) रोगको औषधि सेवन गरिरहेका धनबहादुर अधिकारीले पनि जाजरकोटमा औषधि पाउन छोडेपछि आफू समस्यामा परेको बताए । उनीहरु जस्तै धेरै दीर्घरोगीहरु औषधि नपाउँदा समस्यामा परेका छन् । दम, मुटुरोग, उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग भएकाहरुले नियमित सेवन गर्ने औषधि निजी औषधि पसलहरुसँग सकिएपछि उनीहरु समस्यामा परेका हुन् । लकडाउनका कारण औषधि ढुवानी गर्न नसक्दा अभाव भएको सदरमुकाममा औषधि पसल सञ्चालन गर्दै आउनुभएका वीरप्रकाश रोकायले बताए । उनले भने, ‘दीर्घरोगीले खाने अत्यावश्यक औषधिका साथै अन्य औषधि पनि सकिएको छ । जताजतै बन्दाबन्दी छ । गाडी चल्दैनन् । यस्तो बेला कसरी औषधि ल्याउने ?’
सदमुकाममा मात्र होइन, जिल्लाका ग्रामिण भेगमा समेत दीर्घरोगीले सेवन गर्ने र अन्य औषधिको अभाव देखिएको छ । जिल्लाका धेरै मेडिकल कोरोना सङ्क्रमण सर्ने डरले बन्द छन् । सिमित मात्रामा खुलेका पसलमा पनि औषधिको स्टक सकिदै गएको छ । औषधि सकिदै गएपछि विरामी मर्कामा परेका छन् । छेडागाडको थलहमा रहेको डेभिड मेडिकलका सञ्चालक अर्जुन अधिकारीले दीर्घरोगीले खाने औषधिका साथै अन्य औषधि पनि सकिएको बताए । उनका अनुसार एल्पाइन, सिरप वेटा–२, भ्यान्टिफिलाइन फोर्ट टेबलेट, सेनिटाइजर, मास्क, सिटामोल, ब्रोफलम, जीवनजललगायत अधिकांश औषधि सकिएको बताए । सवैभन्दा बढी मर्कामा दीर्घरोगीहरु परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पनि औषधि सकिदै गएको छ । सरकारी स्वास्थ्य संस्थामा दीर्घरोगीले सेवन गर्ने औषधि निःशुल्क पाइदैन । जिल्ला अस्पतालमा रहेको फार्मेसीमा समेत दीर्घरोगीले प्रयोग गर्ने औषधि नभएपछि आफूहरु समस्यामा परेको विरामीको गुनासो छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले औषधि ढुवानीका लागि पासको ब्यवस्था गर्न सकिने बताए । हालसम्म औषधि ढुवानीका लागी पास माग्न कोही आउनु भएको छैन । आएपछि पास उपलब्ध हुन्छ उनले भने। जाजरकोटमा करिब पाँच सयको हाराहारीमा निजी औषधि पसल वा मेडिकल सञ्चालनमा रहेपनि हाल कोरोना भाइरस सङ्क्रमणको डर मुस्किलले २५ देखि ३० वटा मात्र खुलेका छन् । बाँकी सबै मेडिकल बन्द छन ।
स्वास्थ्य सेवा कार्यालयका फार्मेसीमा गाउँका स्थानीयवासीको पहुँच नभएका कारण अर्को समस्या परेको छ । सबै गाउँमा सरकारी स्वमित्वमा स्वास्थ्य संस्था छैनन्, गाउँमा औषधि पसलकै भरमा औषधि खरिद हुँदै आएको छ । दुर्गम गाउँका चिकित्सक भनेकै औषधि पसल र त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरु नै हुन् । सङ्घीय सरकारले स्वास्थ्य संस्था निर्माणका लागि दिएको बजेट समेत जाजरकोटमा कार्यान्वयन हुन सकेको छैन । अहिलेसम्म आधा निर्माण भइसक्नु पर्ने स्वास्थ्य संस्थाहरु अहिले सम्म बोलपत्र आवह्वानको काम नै चलिरहेको छ । जाजरकोट मात्र होइन, दुर्गम जिल्लाहरुको प्रायः एकै नासको समस्य रहेको छ । कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला र मुगु जिल्लामा सबैभन्दा बढी समस्या रहेको छ । सडक सञ्जालसँग नजोडिएका जिल्लामा बढी औषधिको समस्या भएको सरोकारवालाहरु बताउँछन् । हवाई मार्गबाट औषधि ढुवानी गनुपर्ने हुम्ला, डोल्पा र मुगुमामा नै बढी समस्या हुने गरेको छ । मङ्लबार परेको हिमपातले यी ठाउँका घोडेटो बाटोमा समस्या भएको बताएको छ ।