कोरोना रोकथाममा सफल मानिएको सिंगापुर अहिले बन्यो ‘हटस्पट’

कोरोना रोकथाममा सफल मानिएको सिंगापुर अहिले बन्यो ‘हटस्पट’
समाचार स्वास्थ्य

काठमाडौं, १५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्न सिंगापुर सफल भएको भन्दै तारिफ गरिएको थियो । तर, पछिल्लो समय त्यहाँको अवस्था फेरिएको छ ।

५० लाख जनसंख्या भएको सिंगापुरमा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढेर अहिलेसम्म १३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

अहिले पनि सिंगापुरले भाइरस नियन्त्रणका लागि दैनिक धेरै संख्यामा परीक्षण भइरहेको बताएको छ । खासगरी प्रवासी मजदूरमाथि परीक्षणलाई तीव्रता दिइएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

सिंगापुरमा प्रवासी मजदुरबाट सबैभन्दा पहिला यो भाइरस फैलिन शुरु भएको थियो । सिंगापुरको निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु धेरैजसो दक्षिण एसियाली मुलुकबाट आउने गर्छन् । वर्क परमिट लिएर काम गर्ने उनीहरुमा कोरोना भाइरसको संक्रमण सहजै फैलिनसक्ने क्षेत्रमा बसोवास गर्छन् ।

आइतबार मात्र सिंगापुरमा नौ सय ३१ नयाँ संक्रमित फेला परे । यसमा सबैभन्दा धेरै बाहिरबाट आएका कामदार नै थिए । १५ संक्रमण भने स्थायी बासिन्दामा देखिएको थियो ।

परीक्षण बढाइएसँगै प्रवासी मजदुरमा अझै धेरै संक्रमण देखिन सक्ने बताइएको छ ।

Post Comment