भ्रमण वर्षलाई लक्षित गरी विभिन्न स्थानमा पर्यटकले रुचाउने खालका गतिविधि शुरु भइरहेका छन् । बागलुङमा भ्रमण वर्षलाई लक्षित गरी खुला सङ्ग्रहालय स्थापना गर्न थालिएको छ । जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा सो सङ्ग्रहालय स्थापना गर्न शुरु गरिएको हो ।
आउँदो असारसम्म सङ्ग्रहालयमा मूर्ति प्रतिस्थापन गर्ने गरी तीन वर्षदेखि भौतिक पूर्वाधारको काम थालिएको हो । सङ्ग्रहालयका लागि आवश्यक संस्कार, संस्कृति र रीतिरिवाज झल्काउने मूर्ति निर्माण गर्नका लागि यही फागुन ५ गतेदेखि २१ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी पूरा भएको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ ।
कार्यशालास्थलमा आवश्यक पूर्वाधार सडक, पार्किङ पदमार्ग, विद्युत्, सार्वजनिक शौचालय, स्नानघर, तारबार र आवासको व्यवस्था गरिएकोे प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।
कार्यशालामा मूर्ति निर्माणका लागि विदेशी कलाकार नेपाल आउन थालिसकेका छन् । “१७ दिनको अवधिमा १७ मूर्ति निर्माण गरी खुला सङ्ग्रहालयमा राखिने छ”, अध्यक्ष रानाले भने, “मूर्तिकला कार्यशालामा आउने १० विदेशीसहित १५ मूर्तिकार सहभागी गराउँदैछौँ ।”
कार्यशालास्थलमा मूर्ति कुँद्ने ढुङ्गा तयारी अवस्थामा राखिएको छ । रानाका अनुसार भ्रमण वर्षका अवसमा धेरै भन्दा धेरै पर्यटक भित्रयाउनका लागि संग्रहालय निर्माणलाई तिव्रता दिइएको हो ।
विसं २०७३ सालमा टेउवाको डाडाँलाई खुला संग्रहालय निर्माण गर्ने गरी गलकोट कला प्रतिष्ठानको स्थापना गरीएको थियो । स्थानीयले खुला संग्रहालयका लागि २३ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएको कला प्रतिष्ठानका कोषाध्यक्ष यम बहादुर श्रीसले जानकारी दिए ।
नेपाल सरकाले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरी खुला संग्रहालय निर्माण गर्न शुरु गरिएको हो । खुला संग्रहालयको २०७४ सालमा रु।१२ करोड बराबरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी काम थालिएको थियो । कोषाध्यक्ष श्रीसका अनुसार असारसम्म झण्डै रु।तीन करोड खर्च भइसक्ने गरी निर्माण भइरहेको छ ।
पाँच नेपाली र १० विदेशी गरी १५ कलाकारले १७ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् भने कुदिएका मुर्ति खुला संग्रहालयमा प्रतिस्थापन गर्ने कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए ।
अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले सिर्जना गरेका भावनात्मक, संस्कार तथा संस्कृति झल्काउने मूर्ति खुला सङ्ग्रहालयमा प्रतिस्थापन गरिनेछ । कार्यशालामा एक गणेश तथा एक बुद्धको मूर्ति बनाइने छ ।
कार्यशालामा जापानका जुन इचिरो सुगीमोतो, चीनका लिउ याङ्ग, इटालीका बिटिनो फ्रान्सेनी, फ्रान्सका जिवियर्स गोँजालेज, ताइवानका लीनली जेन, क्यानडाका जुली ग्ल्यास्पी, भारतका टुटु पटानायक, इजरायलका तान्या प्रिमिङ्गर, ब्राजिलका जर्जलुइज र युक्रेनका मूर्तिकार ल्युड्मेलले कार्यशालामा भाग लिने जनाइएको छ ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनुहुने कला प्रतिष्ठानका सचिव सुनमाया ढकालले जानकरी दिइन् ।
मूर्तिकारहरुको त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।
कार्यशालाका लागि हालसम्म गलकोट नगरपालिकाले रु१२ लाख, गण्डकी प्रदेश सरकारबाट रु४५ लाख, केन्द्रीय सरकारबाट रु५० लाख सहयोग भएको छ । यस्तै खुला संग्रहालयलाई साधारण सदस्य, आजिवन सदस्य, मानार्थ सदस्य तथा संरक्षकलगायतका सदस्य निर्माण गरी सहयोग रकम लिइनेछ ।
कला प्रतिष्ठानमा आजीवन सदस्य बन्न रु१० हजार तथा मानार्थ सदस्य बन्न रु एक लाख तथा संरक्षक बन्न रु पाँच लाख सहयोग गर्नुपर्नेछ । हाल प्रतिष्ठानको ५५० आजीवन सदस्य भइसकेका छन् ।
मध्यपाडी लोकमार्ग हुँदै पोखराबाट बागलुङको ढोरपाटन पुग्ने पर्यटकलाई गलकोटमा रहेको खुला मूर्तिकला सङ्ग्रहालयले आकर्षित गर्ने पर्यटन व्यवसायी बताउँछन् ।
खुला सङ्ग्राहालयमा आगमी वर्षदेखि बगैँचा, शीतलपाटी, अनुसन्धान केन्द्र तथा अन्तराषर्िट्रयस्तरको सभाहललगायतका संरचना बनाउन थाल्ने प्रतिष्ठानले जनाएको छ ।