तिलोत्तमा (रुपन्देही), १४ पुस । यस क्षेत्रमै पहिलोपटक रुपन्देहीको मणिग्राममा रहेको शान्ति नमुना उच्च माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल कम्प्युटर प्रिन्टर हस्तान्तरण गरिएको छ ।
नेत्रहीन पुनःस्थापना कार्यक्रम रुपन्देहीले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल कागजमा प्रिन्ट गर्ने प्रिन्टर र कम्प्युटर हस्तान्तरण गरेको हो । पुनःस्थापना कार्यक्रमले करिब रु पाँच लाखको चारवटा ब्रेल कम्प्युटर प्रिन्टर प्रदान गरेको हो ।ब्रेल कम्प्युटरको सहयोगले विद्यालयमा अध्ययनरत २९ जना दृष्टिविहीन विद्यार्थीका लागि आधुनिक शिक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ ।
सो अवसरमा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले रुपन्देही नेत्रहीन पुनःस्थापना कार्यक्रमले यस क्षेत्रमा नमुना कार्यको सुरुवात गरेको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयका प्राचार्य घनश्याम ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य खोम भण्डारी, नेपाल नेत्रहीन पुनःस्थापना कार्यक्रमका केन्द्रीय निर्देशक अमृत भट्टराई, विद्यालयका सहायक प्राचार्य कुलप्रसाद लामिछानेले ब्रेल कम्प्युटरको सहयोगले विद्यार्थीमा थप उत्साह जागेको बताउनुभयो । रासस