अमेरिकामा एक नेपालीको निधन

अमेरिका

ड्यालस (टेक्सस), अमेरिका — चितवन घर भएका राजमणि चौधरीको सोमबार अमेरिकाको ड्यालसमा उपचारको क्रममा निधन भएको छ ।

गत जनवरी ११ तारिक दिउँसो गाडी चलाएर कामबाट फर्कदै गर्दा अचानक अप्ठेरो महसुस गरेर अस्पताल भर्ना गरिएका चौधरीको झण्डै चार साता पछि निधन भएको हो । ‘अप्ठेरो भएपछि गाडीलाई सडकमा छेउ लगाएर सहयोग मागेछ, तत्काल एम्बुलेन्स आएर उपचार गर्न अस्पताल ल्याइयो,’ चौधरीका आफन्त बिक्रम चौधरीले बताए।

चौधरीको परिवार टेक्ससको रौनकमा बस्दै आएका छन् । नेपाली समाज टेक्सस लगायत नेपाली संघसस्थाहरूमा उनी निकै सकृय थिए ।  उनकाे निधनले टेक्ससको नेपाली समुदायले अति भलादमी र मेहनती, इमान्दार सदस्य गुमाएको छ । उनी फुटबल र भलिबलका राम्रा खेलाडी पनि थिए ।

मस्तिष्कमा समस्या देखिएपछि प्लानोस्थित अस्पतालमा चार सातासम्म उपचार गर्दा पनि सुधार नभएपछि सोमबार साँझ उनको निधन भएको हो । ३७ वर्षिय चोधरीका पत्नी र १६ तथा १२ वर्ष उमेरका छोराहरु छन् ।

चितवनको बैरनी घर भएका चौधरी सन् २००८ देखि अमेरिकामा छन् । एक्लै काम गरेर परिवार धान्दै आएका उनले केही महिना अघिमात्र घर किनेका थिए ।

‘एक्लैले काम गर्थ्यो, उसको निधनपछि परिवार निकै अप्ठेरोमा छन्’ बिक्रमले भने । मृतक चौधरीको शव जलाउन समेत समस्या परेको छ । नेपाली समाज टेक्ससले चौधरीको शव जलाउन र परिवारलाई सहयोग गर्नका लागि गोफण्ड खाता खोलिएको उपाध्यक्ष कमल सापकोटाले बताउनुभयो ।

‘भरखरै घर किनेको, पत्नीले काम नगर्ने कारणले निकै अप्ठेरो अवस्थामा रहेका छन् । सबै नेपालीहरुलाई चौधरीको शव जलाउन र परिवारका लागि सहयोग गर्न आग्रह गर्छु’ सापकोटाले भने ।

अस्पताल भर्ना भएदेखिनै वेहोश भएका उनको रेखदेख र हेरबिचारका लागि मातापिता समेत अमेरिका अएका छन् । नेपाली समाज टेक्ससले यो दुखद् घडीमा पीडित परिवारलाइ सहयोग गर्न अपिल गरेको छ ।

साभार: हिमालय खबर

Post Comment