गोरखाबजार, २५ माघ । सिएनएन हिरो तथा प्रारम्भिक बाल विकास केन्द्र काठमाडौँंका अध्यक्ष पुष्पा बस्नेतले गोरखाका बेसहारा दुई सडक बालकको उद्धार गर्नुभएको छ ।
बाबु सूर्यबहादुर आचार्य गोरखा जिल्ला कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भोगिरहेका र आमा (कल्पना आचार्य) छोरालाई छाडेर अर्कैसँग पोइला गएपछि सडकमा बस्दै आएका मसेल गाविसका १२ वर्षीय प्रदीप आचार्य र ११ वर्षीय सन्दिप आचार्यलाई आज उद्धार गरेको सिएनएन हिरो बस्नेतले जानकारी दिनुभयो ।
गोरखाको बालकल्याण समितिको समन्वयमा दुई बालकलाई उद्धार गरेर काठमाडौँ लगिएको बस्नेतको भनाइ छ ।
“कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भोगिरहेका आचार्यको छोरालाई हामीले उद्धार गरेका छाँै” – बस्नेतले भन्नुभयो – “केन्द्रमा लगेर प्रारम्भिक शिक्षा दिने र आउँदो वैशाखदेखि विद्यालयमा पढ्न भर्ना गर्छौं ।” देशभरका १९ कारागारभित्र विभिन्न मुद्दामा सजाय भोगिरहेकाको छोराछोरीलाई केन्द्रले पढाउँदै आएको उहाँले बताउनुभयो ।
सूर्यबहादुर जौबारीका शिक्षक सुरेन्द्र थपलियाको हत्यामा संलग्न देखिएपछि कारागारमा सजाय भोगिरहेका छन् । रासस