अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो ।
हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने देखिएको छ । चार सय ३५ सदस्यीय प्रतिनिधिसभामा हाल रिपब्लिकनको दुई सय ३५ र डेमोक्र्याटिक पार्टीको एक ९३ स्थान छ । सात स्थान रिक्त छ । यस पटक यी सबै स्थानमा चुनाव हुँदैछ ।
तर, एक सय सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि मात्र चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लिकन पार्टीको ५१, डेमोक्र्याटिक पार्टीको ४७ र स्वतन्त्र २ सिट छ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ ।
यस चुनावमा डेमाक्र्याटिक पार्टीले प्रतिनिधित्व गरेका २३, रिपब्लिकनले प्रतिनिधित्व गरेका आठ, स्वतन्त्र दुई र रिक्ता दुई स्थानका लागि चुनाव हुनेछ । त्यस्तै ३६ राज्य र तीन अधिकृत क्षेत्रमा गभर्नर पदका लागि चुनाव हुँदैछ ।
संसदको चुनावको नतिजा खासगरी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण छ । रिपब्लिकन पार्टीले संसदमा बहुमत गुमाए ट्रम्पका धेरैवटा महत्वाकांक्षी योजना अलपत्र पर्नेछन् ।
डेमोक्र्याटले बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि दबाब थपिनेछ । सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिनसक्छ । ट्रम्पमाथि संसदमा महाभियोगको प्रस्ताव समेत आउन सक्छ ।
ट्रम्पले चुनावी सभामा डेमोक्र्याट पार्टीका नीतिको कडा आलोचना गरिरहेका छन् । उदार अर्थव्यवस्था र आप्रवासबारे डेमोक्र्याटहरुको नीति मुलुकको हितमा नभएको उनको दाबी छ ।
होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढिरहेका छन् । ट्रम्पले यसलाई चुनाव प्रचारबाजीको विषय बनाएका छन् । ती शरणार्थीको लस्करलाई डेमोक्र्याटले मद्दत गरेको उनको आरोप छ ।