काठमाण्डौ , भदौ १५ । जापान सरकारले नेपाललाई १ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा जापानका विदेश राज्यमन्त्री नोबु किसाइ र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितीमा आज हस्ताक्षर भएको हो ।
नेपालमा हवाई सेवामा सुधार र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि अनुुदानको रकम उपलब्ध गराईने नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बताउनुभयो ।
कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएका किसाईको उपस्थितीमा अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।
अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा राजदूत ओगावा र अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले विमानस्थलको हवाई सेवा सम्बन्धि परियोजनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य ८ वटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै ३१ करोड ३० लाख रुपैयाँ विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत अनुदानस्वरुप प्रदान गरिने छ ।
सो सम्झौता पत्रमा नेपालस्थित जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख जुन साकुमा र मन्त्रालयका अन्तर्रा्ष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभयो ।