डोल्पाको जुफाल विमानस्थलमा हिउँ पन्छाएरै उडाइयो जहाज

डोल्पाको जुफाल विमानस्थलमा हिउँ पन्छाएरै उडाइयो जहाज
समाचार समाज

डोल्पाको जुफाल विमानस्थलमा एक दिनदेखि रोकिएको समिट एयरको जहाँज आज दिउँसो नेपालगञ्ज विमानस्थलका लागि उडेको छ ।

खराब मौसमका कारण शुक्रबारदेखि विमानस्थलमै रोकिएको समिट एयरको जहाज धावन मार्गमा जमेको बाक्लो हिउँ ट्र्याक्टर र मान्छे लगाएर पन्छाएपछि दिउँसो दुई बजे नेपालगञ्जका लागि उडेको हो ।

शुक्रबार बेलुकी भएको भारी हिमपातपछि धावनमार्गमै जमेको हिउँ बिहानैदेखि ट्र्याक्टर, एयरपोर्टका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासी मिलेर पन्छाए पछि जहाज उडाउन सफल भएको विमानस्थल सुरक्षा चौकी जुफालका प्रहरी नायब निरीक्षक कमल शाहले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट यात्रु बोकेर जुफाल विमानस्थलका लागि उडेको समिटको जहाज अवतरण गरेको केही समयभित्रै नेपालगञ्ज र जुफालको मौसम बिग्रेपछि धावनमार्ग मै रोकिएको थियो । जहाज रोकिएको केही घण्टापछि हिउँ पर्न शुरु भएपछि जहाज हिउँले सेताम्य भएको थियो । धावनमार्गमा हिउँ जमेकाले आज कुनै पनि उडान भएन ।

हिउँ पन्छाएर धावनमार्ग खाली गरिएकाले आइतबार विभिन्न विमान कम्पनीले उडान भर्ने जुफाल विमानस्थलले जनाएको छ ।

Post Comment