महेन्द्र पुस्तकालयमा २२ वर्षदेखि एउटै अध्यक्ष, रेखदेखको अभावमा धरासायी

महेन्द्र पुस्तकालयमा २२ वर्षदेखि एउटै अध्यक्ष, रेखदेखको अभावमा धरासायी
समाचार समाज

नेपालगञ्जको पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय उचित रेखदेखको अभावमा धरासायी बन्दै गएको छ । पुस्तकालय सञ्चालक समितिको अध्यक्षमा २२ वर्षदेखि एकै व्यक्तिको एकछत्र रजाइँ भएकाले पनि यो धरासायी बन्दै गएको हो । विसं २०५४ मा कन्हैयालाल टण्डनले अध्यक्षको जिम्मेवारी पाएपछि सञ्चालक समितिको चुनाव नै भएको छैन ।

नेपालगञ्जका वरिष्ठ साहित्यकार प्राज्ञ सनत रेग्मीले भने, “टण्डनजीको निरङ्कुश प्रवृत्तिका कारण पुस्तकालय एक पाइला पनि अघि बढ्न सकेन र अहिले धरासायीको अवस्थामा पुगेको छ ।” कार्यसमितिको एक कार्यकाल दुई वर्षको भए पनि २२ वर्षदेखि टण्डन नै अध्यक्ष छन् । “उनले चुनाव गराउने नै आँट गर्नुभएन”, प्राज्ञ रेग्मीको गुनासो छ ।

आफ्नो कमजोरी स्वीकार्दै अध्यक्ष टण्डन भन्छन्, “मैले पदबाट राजीनामा दिने सोच बनाएको छु, केही दिनभित्रै मेरो राजीनामा आउँछ ।” सो पुस्तकालय अहिले नाम मात्रको छ । भवन आप्mनै भएर पनि जीर्ण अवस्थामा छ । पुस्तकालयमा समयसापेक्ष पुस्तकहरु नै छैनन् । पुस्तकालयमा अध्ययन गर्न जानेको सङ्ख्या औँलामा गन्न सकिन्छ ।

यो पुस्तकालय विसं २००३ मा स्थापना भएको हो । त्यतिबेलाका युवाहरुले शिक्षा तथा पठनशीलताको विकास गर्ने उद्देश्यले पुस्तकालयको स्थापना गरेका थिए । पुस्तकालयमा आजीवन र साधारण सदस्य रहने व्यवस्था छ । तिनै सदस्यबाट सञ्चालक समिति चयन हुने गर्छ । वर्तमान अध्यक्ष टण्डन अघिसम्म व्यवस्थित तथा लोकतान्त्रिक पद्दतिबाट चलेको पुस्तकालय त्यसपछि उहाँको पदलोलुपताका कारण धरासायी बन्दै गएको प्राज्ञ रेग्मीको आरोप छ ।

ज्ञानको भण्डारका रूपमा स्थापना गरिएको पुस्तकालय अहिले बेकामको देखिएको छ । पुस्तकालयलाई झन उपयोगी बनाउनुपर्नेमा जीर्ण हुँदै गएकोप्रति नेपालगञ्जका शिक्षाप्रेमीले चिन्ता र चासो व्यक्त गर्न थालेका छन् ।

Post Comment