आठ दिनपछि बालकको शव भेटियो

समाचार

पाँचथर, १३ असोज – हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव बुधबार भेटिएको छ । असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव भेटिएको हो । स्थानीयवासीले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुबै हातखुट्टा भाँचिएको र शव पनि सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको शव स्थलगत मुचुल्का तयार गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । साथीहरुसँग घरनजिकै पुलमा खेल्न गएका उनी खेलिरहेका बखत पुलबाटै खोलामा खसेर नौ दिनअघि बेपत्ता भएका थिए ।