काठमाडौं, साउन २५। माओवादी केन्द्रमा मन्त्री हुने आकांक्षीहरु धेरै देखिएपछि मन्त्री छनोट पेचिलो बनेको छ । मन्त्री छान्न माओवादीले मंगलबार दिउँसो ३ बजेका लागि हेर्डक्वार्टर बैठक बोलाएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीको अन्तिम टुंगो लगाउन हेर्डक्वार्टर बैठक बालुवाटारमा डाकेका हुन् ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्ड नेतृत्वमा सरकार बनाउन महत्त्वपूर्ण भूमिका खेलेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र प्रभावशाली नेता वर्षामान पुन कसलाई मन्त्री बनाउने भनेर केही दिनदेखि दौडधुपमा छन् । दुवै जना मंगलबार बिहानै निवास पुगेका थिए ।
सरकारको नेतृत्व गरेको माओवादीको भागमा अर्थ, युवा तथा खेलकुद, सञ्चार, उर्जा, कानुन, स्थानीय विकासलगायत आठ मन्त्रालय परेको छ । जसमध्ये दुई मन्त्री माओवादीले नियुक्त गरिसकेको छ । सञ्चारमा राम कार्की, उर्जामा जनार्दन, कानुनमा प्रभु साहको चर्चा छ । कार्कीले भने आफूलाई परराष्ट्र मन्त्रालय चाहिने दाबी गरेको बुझिएको छ ।
उता, त्यही परराष्ट्र मन्त्रालयमा कांग्रेस नेता शेखर कोइरालाले दावी पेस गरिरहेकाले कार्कीको चाहना पूरा हुनेमा द्विविधा रहेको एक माओवादी नेताले बताए । रुची अनुसारको मन्त्रालय परराष्ट्र नपाए पनि कार्कीले कुनै एक मन्त्रालय सम्हाल्ने भने निश्चित जस्तै छ । यता, साहलाई प्रचण्डले कानुन मन्त्रालय दिन खोजे पनि उनले भने सञ्चार मागेको माओवादीमा चर्चा छ । साहलाई रोक्न मातृका यादव चलखेलमा लागेको एक माओवादी नेताले बताए । ३ बजेको हेर्डक्वार्टर बैठकमा मन्त्री छानिने भएपछि महत्त्वपूर्ण मन्त्रालय फुत्काउन तीव्र दौडधुप चलेको छ । बालुवाटार स्रोतका अनुसार, हेर्डक्र्वाटर बैठकले मन्त्रीको टुंगो लगाएमा आजै साँझ सपथ ग्रहण गराइनेछ ।