मुक्त हलियाका बालबालिकाका लागि निःशुल्क कम्प्युटर शिक्षा

समाचार

कञ्चनपुर, १ पुस । कञ्चनपुरको भीमदत्तनगरपालिकाका मुक्त हलियाका विद्यालयमा पढ्दै आएका बालबालिकाका लागि निःशुल्क कम्प्युटर शिक्षाको व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले यहाँका सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव, नवदुर्गा निम्नमाध्यमिक विद्यालय सुडा र त्रिभुवन उच्चमाध्यमिक विद्यालय तिलाचौरमा प्रतिविद्यालयमा सातवटाका दरले कम्प्युटर उपलब्ध गराई निःशुल्क कम्प्युटर सिक्ने अवसर प्रदान गरेको हो ।सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेवमा कक्षा १० मा पढ्दै आएका मुक्त हलिया परिवारका वीरेन्द्र सार्कीले कम्प्युटर सिक्नका लागि निकटवर्ती भारतीय बजार टनकपुर र महेन्द्रनगरमा जानुपर्ने विगतको बाध्यता विद्यालयमै कम्प्युटरको व्यवस्थाले हटेको बताए ।

उनले भने–“बाह्य क्षेत्रमा कम्प्युटर सिक्दा चर्को शुल्क तिर्नुपर्ने बाध्यता थियो । विद्यालयमै निःशुल्क कम्प्युटर सिक्न पाएपछि भविष्यमा केही गर्न सक्ने आँट आएको छ ।”विद्यालयका शिक्षक हीरासिं ऐडीले मुक्त हलियाका ७० प्रतिशत बालबालिका यहाँ अध्ययन गर्ने भएकाले सबैलाई पालैपालो कम्प्युरमा बसेर प्रयोगात्मक तरिका र हेर्न लगाएर सिक्ने अवसर दिँदै आएको बताउनुभयो ।

अधिकांश समय अभिभावकसँगै बिताउँदै आएका मुक्त हलियाका बालबालिका विद्यालयमा कम्प्युटरको व्यवस्थाले नबिराइ विद्यालय आउन थालेको शिक्षक रमेश खड्काले बताउनुभयो । कम्प्युटरले गर्दा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा समेत निकै कमी आएको पाएको उहाँको भनाइ छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले प्रतिस्पर्धाको युगमा मुक्त हलियाका बालबालिकाको समेत कम्प्युटर शिक्षामा दखल हुुनु जरुरी छ भन्नुभयो । रासस

Post Comment